धनगढी, २०८३ वैशाख ६ कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी भएका दुई सहोदर दाजुभाइको उपचारका क्रममा मृत्यु भएको छ। चुरे गाउँपालिका–३, भक्तपुर बस्ने ८ वर्षीय भीम ताम्राकार र ५ वर्षीय दीपक ताम्राकारको शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
गत बिहीबार स्थानीय विकास पोल्ट्री फार्मबाट मरेको कुखुरा ल्याई मासु खाएपछि परिवारका चारै सदस्य बिरामी परेका थिए। मासु सेवन गरेका मृतककी २८ वर्षीया आमा राधिका ताम्राकार र ३ वर्षीय भाइ दिपेश ताम्राकारको अवस्था पनि गम्भीर रहेको र उनीहरूको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ। प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार घटना बिहीबारको भए तापनि प्रहरीलाई शुक्रबार मात्र जानकारी गराइएको थियो, लगत्तै उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको थियो।
मरेको कुखुरा बिक्री गर्ने फार्म सञ्चालक मंगल साउँदले इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भई बयान दिएका छन्। उनलाई आवश्यक परेको बेला उपस्थित हुने शर्तमा आफन्तको जिम्मा लगाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

