काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनमा भावना र इच्छाशक्ति मात्र पर्याप्त नहुने भन्दै प्रभावकारी प्रतिकार्यका लागि विषयगत सीप, ज्ञान र व्यवस्थित प्रशिक्षण अनिवार्य रहेको बताएका छन्।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै सभापति थापाले संकटका बेला उद्धार र सहयोगमा खटिने नेता-कार्यकर्ताहरूलाई व्यावहारिक र प्राविधिक ज्ञान दिन आवश्यक रहेको औंल्याए।
"विपद् व्यवस्थापन आफैंमा एउटा विज्ञान हो। कसरी र कुन तरिकाले सहयोग गर्ने भन्ने ज्ञान नहुँदा राम्रो नियतले गरिएको कामले पनि थप जटिलता ल्याउन सक्छ," थापाले भने।
सामाजिक सद्भाव जोगाउन कांग्रेसको अग्रणी भूमिका
केही दिनअघि सुनसरीको देवानगन्ज गाउँपालिकामा भएको दुःखद घटनापछि उत्पन्न परिस्थितिलाई साम्य पार्न कांग्रेसले जिम्मेवार भूमिका खेलेको उनले दाबी गरे। घटनालगत्तै पार्टी नेतृत्वले स्थानीय तहका कार्यकर्तालाई सक्रिय गराई हिंसा र उत्तेजना फैलिन नदिन निरन्तर पहल गरेको उनले जानकारी दिए।
उनले थपे, "निर्वाचनको परिणामले मात्र कुनै दललाई राष्ट्रिय शक्ति बनाउँदैन। राष्ट्रिय शक्ति हुनुको अर्थ इतिहास, मूल्यमान्यता, अनुभव र उत्तरदायित्वसँग जोडिएको हुन्छ। त्यसैले समाजप्रतिको यो दायित्व कांग्रेसले निरन्तर निर्वाह गरिरहनेछ।"
सङ्गठनात्मक चुनौती र भदौ २४ को अभियान
पार्टीभित्र पद सीमित र आकाङ्क्षी धेरै हुँदा सङ्गठनात्मक चुनौती सिर्जना हुने गरेको स्वीकार गर्दै थापाले नेता-कार्यकर्तालाई पदभन्दा माथि उठेर सामाजिक सेवामा लाग्न आग्रह गरे। संस्थापक नेताहरूको योगदान स्मरण गराउँदै उनले कांग्रेसको मूल ध्येय सत्ता नभई नागरिक र मानव सेवा नै रहेको स्पष्ट पारे।
सभापति थापाले आगामी भदौ २४ गतेदेखि देशभरका नेता–कार्यकर्ताहरूलाई वर्षभरि जोडिने गरी सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कम्तीमा एउटा काममा अनिवार्य रूपमा सक्रिय गराउने योजना सार्वजनिक गरे।
