काठमाडौँ, २०८३ वैशाख १४
नेपाली कांग्रेसले लामो आन्तरिक गृहकार्यपछि भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको छ। संसद्मा पार्टीको संख्यात्मक उपस्थितिका आधारमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने दबाबबीच कांग्रेसले आङदेम्बेलाई दलको नेता बनाएको हो।
संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे र मोहन आचार्य मुख्य आकांक्षी थिए। शीर्ष तहको नेता, पूर्व सांसद र मन्त्री बनेको अनुभवका कारण अर्जुननरसिंह केसी स्वाभाविक दाबेदार मानिएका थिए। केसी स्वयं पनि दाबेदार रहेको बताउँदै आएका थिए। तर, शीर्ष नेतृत्वले पार्टीमा 'परिवारवाद'को आरोप लाग्न सक्ने र सर्वसम्मत नेतृत्व चयन गर्ने वातावरण बनाउनुपर्ने निष्कर्ष निकाल्दै केसीलाई दाबी छोड्न आग्रह गरेको थियो। सोहीअनुरूप उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित समितिले अन्य आकांक्षीहरूलाई समेत सहमतिमा ल्याउन सफल भयो।
आङदेम्बेको छनौटलाई पार्टीमा गुटगत राजनीतिको अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको छ। पार्टी सभापति गगन थापाले संसदीय दलको नेता चयन ढिलो हुनुको कारण लाचारी नभई निर्णयलाई 'परिपक्व' बनाउन सबै पक्षसँग गरिएको संवाद भएको स्पष्ट पारेका छन्। "हामी भित्र निर्णयलाई परिपक्व बनाउँदै थियौँ। सबै पक्षसँग छलफल गर्नुपर्ने भएकाले समय लागेको हो," सभापति थापाले भने।
आङदेम्बेले विगतमा पूर्व सभापति शेरबहादुर देउवाको पक्षमा रहेर पनि समन्वयकारी भूमिका खेलेका थिए। उनी कुनै विशेष गुटमा नरहेको र सभापति थापाको 'स्पिरिट' अनुसार कार्य गर्ने प्रतिबद्धता जनाएपछि उनलाई सर्वसम्मत नेता बनाउने बाटो खुलेको थियो। संसद्मा रहेका अन्य दलहरूमध्ये सबैभन्दा ढिलो संसदीय दलको नेता चयन गर्नेमा कांग्रेस पुगेको भए पनि यस निर्णयले पार्टीमा एक प्रकारको सन्देश प्रवाह गरेको छ।

